एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आफैंले आफूलाई मुर्ख भनेका छन्। सन् २०२२ विश्वकपका क्रममा एक खेलमा गरेको सेलेब्रेसनलाई लिएर मेस्सीले आफूलाई मुख भनेका हुन्।
कतार विश्वकपको क्वाटरफाइनलमा नेदरल्याण्ड विरुद्ध गोल गरेपछि गरेको सेलेब्रेसनलाई लिएर मेस्सीले एक कुराकानीका क्रममा आफैंलाई मुर्ख भने। सो सेलेब्रेसनलाई लिएर आफूलाई पछुतो लागेको मेस्सीको भनाई छ।
“मैले त्यहाँ ‘टोपो गिजियो’ सेलेब्रेसन गरेको थिएँ। त्यसलाई लिएर त्यति बेलै मलाई पछुतो लागेको थियो। सो सेलेब्रेसन गर्ने बितिकै मैले सोचें – ‘कस्तो बेवकूफ ! उनीहरुले अझै बराबरी गर्न सक्छन्।’,मेस्सीले सो क्षणलाई स्मरण गर्दै भने।
विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड आमने-सामने भएका थिए। सो खेलमा मेस्सीले पनि गोल गरेका थिए। ७३ औं मिनेटमा मेस्सीले पेनाल्टी गोल गरेका थिए। सो गोल पश्चात मेस्सीले दुई कानमा हात राख्दै नेदरल्याण्ड समर्थकलाई चिढ्याउने प्रकारको सेलेब्रेसन गरेका थिए।
पछि नेदरल्याण्डले खेलको अन्त्य तिर दुई गोल फर्कायो। पछि खेल पेनाल्टी सुटआउटमा जाँदा अर्जेन्टिना विजयी भयो। अर्जेन्टिना सेमिफाइनल हुँदै फाइनल सम्म पुगेर विश्वविजेता बन्यो।