एजेन्सी – म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक मार्क ह्युजको दावीलाई मान्ने हो भने कुनै एक समयमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई भित्र्याउन खोजेको थियो।
एक अन्तर्वार्ताका क्रममा ह्युजले डेढ दशक अगाडी नै सिटीले मेस्सीलाई भित्र्याउन प्रयास गरेको खुलासा गरेका हुन्। सन् २००८ मा सिटीलाई नयाँ व्यवस्थापनले खरिद गरेपछि मेस्सीलाई भित्र्याउन प्रयास गरेको ह्युजको भनाई छ।
क्लब बिक्री भएपछि नयाँ मालिकहरुले आफूलाई को-को उत्कृष्ट खेलाडी चाहिन्छ भनेर प्रश्न गरेको र पछि मेस्सीलाई पनि भित्र्याउन प्रयास गरेको ह्युजले बताए। यधपी प्रिमियर लिगको शिर्ष क्लब नभएका कारण त्यसबेला मेस्सीलाई भित्र्याउन क्लब असफल भएको ह्युजको दावी छ।
“नयाँ मालिकहरुले मलाई को-को भित्र्याउन चाहनु हुन्छ भनेर प्रश्न गरेका थिए। सिटीको टार्गेटमा ठूला ठूला खेलाडी थिए। यो भन्दा अचम्म लाग्न सक्छ। तर सिटी मेस्सीमा बोलि लगाउन पनि तयार थियो। सिटी त्यति बेला मिड टेबल टीम थियो।”,ह्युजले भने।
सन् २००८ मा शेख मन्सुर सिटीको नयाँ मालिक बनेका थिए। उनले सिटी खरिद गरेयता सिटीले धेरै प्रगति गरेको छ। सिटी कयौं पटक प्रिमियर लिग च्याम्पियन बनिसकेको छ। गत सिजन सिटीले दुर्लभ ट्रेबल पनि पूरा गरेको थियो।