एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा दुर्लभ र महत्वपूर्ण कोशेढुंगा पार गरेका छन्। लामो समय देखि निरन्तर फुटबल खेलिरहेका रोनाल्डोले शुक्रबार राति महत्वपूर्ण कोशेढुंगा पार गरेका हुन्।
शुक्रबार राति साउदी प्रो लिगमा अल नासरले अल रियादको सामना गर्यो। सो खेलमा रोनाल्डो पनि सहभागी थिए। रोनाल्डोका लागि अल रियाद विरुद्धको खेल करियरको १ हजार २ सयौं खेल थियो।
रोनाल्डो प्रोफेसनल करिअरमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान तोड्ने अभियानमा छन्। प्रोफेसनल करिअरमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान इंग्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टजको नाममा छ।
उनले आफ्नो करियरमा १ हजार ३ सय ८७ खेल खेलेका थिए। प्रोफेसनल करिअरमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको रेकर्ड बनाउन रोनाल्डोले अब १ सय ८८ खेल खेल्नु पर्नेछ।
रोनाल्डो यस सिजन अल नासरका लागि उच्च लयमा देखिएका छन्। रोनाल्डोले यस सिजन साउदी प्रो लिगमा १६ गोल गरिसकेका छन्। उनले १५ खेलमा १६ गोल गरेका हुन्।
रोनाल्डोले कुन क्लबबाट कति खेल खेले?
स्पोर्टिङ: ३१ खेल / म्यानचेस्टर युनाइटेड: ३४६ खेल / रियल म्याड्रिड: ४ सय ३८ खेल / युभेन्टस: १ सय ३४ खेल / अल नासर: ४६ खेल / पोर्चुगल: २०५ खेल