एजेन्सी – पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेल खेल्दैछ।
च्याम्पियन्स लिगको जारी सिजनमा मात्र एक खेलमा जित निकालेको युनाइटेडले मंगलबार राति बायर्न म्युनिखको सामना गर्न लागेको हो। युनाइटेड मंगलबार राति गर या मरको अवस्थामा हुनेछ।
युनाइटेड कुनै पनि हालतमा बायर्नलाई पराजित गर्ने योजनामा हुनेछ। बायर्नसंग बराबरी वा हार युनाइटेडको लागि महँगो पर्नेछ र प्रतियोगिताबाटै बाहिरिनेछ।
च्याम्पियन्स लिगका पाँच खेल मध्ये एक जित, एक बराबरी र ३ हार सहित ४ अंक बनाएर युनाइटेड समूहको अन्तिम स्थानमा छ। त्यस्तै बायर्न भने समूहको शिर्ष स्थानमा छ।
बायर्नले च्याम्पियन्स लिगको जारी सिजनका पाँच खेल मद्ये ४ खेलमा जित निकाल्दा १ खेलमा बराबरी खेलेको छ। उसको १३ अंक छ। बायर्न च्याम्पियन्स लिगको नकआउट चरणका लागि छनोट भइसकेको छ।
बायर्न जर्मन लिगको पछिल्लो खेलमा ५-१ को गोल अन्तरले पराजित भएको थियो। फ्रान्कफर्टसंग भोगेको लज्जास्पद हारको रिस युनाइटेड माथि पोख्ने योजना सहित बायर्नमा उत्रनेछ।