September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको जारी सिजनको समूह चरणका अन्तिम साताका खेलहरु मंगलबार रातिबाट सुरु हुँदैछन्। अन्तिम साताको खेलहरु सुरु हुँदा सबैको ध्यान समूह ‘एफ’मा छ।

च्याम्पियन्स लिगको जारी सिजनको सबै भन्दा कठीन मानिएका सो समूहमा जर्मन क्लब बुरुसिया डर्टमण्ड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी), प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेड र इटालियन क्लब एसी मिलान छन्।

यस समूहको शिर्ष स्थानमा डर्टमण्ड छ। समूह चरणका ५ खेल खेल्दा डर्टमण्डले ३ जित, एक बराबरी र एक हार सहित १० अंक बटुलेको छ। त्यस्तै दोस्रो स्थानमा पिएसजी छ। पिएसजीले ५ खेलमा २ जित, एक बराबरी र २ हार सहित ७ अंक बनाएको छ।

न्यूक्यासल र मिलान दुवैको समान ५ अंक छ। ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’मा जे पनि हुन सक्छ। बुधबार राति पिएसजीले डर्टमण्डको सामना गर्दा मिलानले न्यूक्यासलको सामना गर्नेछ।

यस्तो भएमा पिएसजी बाहिरिनेछ च्याम्पियन्स लिगबाट

बुधबार राति पिएसजी कुनै पनि हालतमा जित्नै पर्ने दबाबमा हुनेछ। मिलान र न्यूक्यासल बीचको खेल बराबरीमा नटुंगिने हो भने पिएसजीले डर्टमण्ड माथि जित निकाल्नै पर्नेछ।

डर्टमण्ड विजयी भए र मिलान र न्यूक्यासल मद्ये एकले जित निकाले पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिनेछ। त्यस्तै पिएसजी र डर्टमण्ड बीचको खेल बराबरीमा रोकिएर न्यूक्यासल २ गोल भन्दा बढीको अन्तरले विजयी भएपनि पिएसजी प्रतियोगिताबाट आउट हुने छ।

तर न्यूक्यासल र मिलान बीचको खेल बराबरीमा रोकिँदा भने डर्टमण्डसंग पराजित नै भएपनि पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *