September 19, 2024

एजेन्सी – रियल म्याड्रिडका पूर्व फरवार्ड करिम बेन्जेमाले नयाँ रेकर्ड बनाएका छन्। क्लब विश्वकपमा साउदी क्लब अल इत्तिहादका लागि सानदार प्रदर्शन गर्दै बेन्जेमाले नयाँ रेकर्ड बनाएका हुन्।

क्लब विश्वकपको पहिलो चरणको खेलमा साउदी लिगको साविक विजेता अल इत्तिहादले मंगलबार राति अकल्याण्ड सिटीको सामना गर्यो। सो खेलमा अल इत्तिहाद ३-० को गोल अन्तरले विजयी भयो।

अल इत्तिहादको जितमा बेन्जेमाले पनि गोल गरे। सो गोल गरेसंगै बेन्जेमाले नयाँ रेकर्ड बनाए। बेन्जेमा चार फरक फिफा क्लब विश्वकप संस्करणहरूमा गोल गर्ने पहिलो खेलाडी बने।

फिफा विश्वकपमा बेन्जेमा सहभागी भएको यो छैठौं पटक हो। यस भन्दा अगाडी बेन्जेमाले स्पेनिस क्लब रियल म्याड्रिडबाट क्लब विश्वकपमा सहभागिता जनाएका थिए।

बेन्जेमाले अहिले सम्म पाँच क्लब विश्वकप जितेका छन्। रियलबाट सहभागी भएका सबै क्लब विश्वकप बेन्जेमाले जितेका छन्। उनले सन् २०१४, २०१६ , २०१७, २०१८ र २०२२ मा क्लब विश्वकपको उपाधि जितेका थिए।

बेन्जेमाले क्लब विश्वकपका चार संस्करणमा गोल गरेका छन्। कुल १० खेल खेल्दा उनले ५ गोल गरेका छन्। उनी गोल संख्याको मामलामा भने ७ गोल गरेका क्रिस्टियानो रोनाल्डो र ६ गोल गरेका ग्यारेथ बेल भन्दा पछि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *