September 19, 2024

एजेन्सी – अर्जेन्टिनी युवा खेलाडी क्लाउडियो इचेभेरीले आफू क्याटलान क्लब बार्सिलोनाबाट खेल्न इच्छुक रहेको बताएका छन्। युरोपका शिर्ष क्लबहरुले भित्र्याउन तछाड-मछाड गरिरहेका बेला इचेभेरीले आफू क्याटलान क्लब बार्सिलोनाबाट खेल्न इच्छुक रहेको बताएका हुन्।

एक कुराकानीका क्रममा इचेभेरीलाई कुन क्लबबाट खेल्ने चाहना छ भनेर प्रश्न गरिँदा रिभर प्लेट बाहेक आफूलाई क्याटलान क्लब बार्सिलोना धेरै मन पर्ने बताए।

त्यसक्रममा उनले आफू मेस्सीको ठूलो फ्यान रहेको बताउन पनि छुटाएनन्। आफू मेस्सीको ठूलो फ्यान रहेको र मेस्सीले बार्सिलोनाबाट खेलेको बच्चै देखि हेरेको इचेभेरीको भनाई छ।

“रिभर प्लेटको अलवा म बार्सिलोनाको नाम लिन मन पराउँछु। म लियोनेल मेस्सीको ठूलो फ्यान हुँ र म बार्सिलोनाका लागि उनले खेलेको बच्चै देखि हेर्ने गर्थें।”,इचेभेरीले भने।

इन्डोनेसियामा सम्पन्न यू–१७ विश्वकप फुटबलका क्रममा उच्च प्रदर्शन गरेपछि युरोपका ठूला क्लबको नजर उनीमा परेको छ। उनलाई म्यानचेस्टर सिटी, पिएसजी, रियल म्याड्रिड, बार्सिलोना लगायतका क्लबहरुले भित्र्याउन चाहेका छन्।

केहि दिन अगाडी मात्र बार्सिलोनाका प्रशिक्षकले इचेभेरीलाई आफूहरुले नजिकबाट नियालिरहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *