एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको आगमनले अमेरिकी मेजर सकर लिगमा उथलपुथल नै भएको छ। मेस्सीका कारण पूरा विश्वको ध्यान मेजर सकर लिगमा छ।
मेस्सीका लागि मेजर सकर लिगको व्यापार र कमाई दुवै बढेको छ। मेस्सीको आगमन पश्चात टेलिभिजन भ्युवरशिप मात्र नभई टिकेटको विक्री पनि ह्वात्तै बढेको छ।
विभिन्न खेल मिडियाहरुका अनुसार सन् २०२४ एमएलएस सिजनका लागि इन्टर मियामीका सबै सिजन टिकटहरू बिक्री भइसकेका छन्। साथै अवे टिकेटहरुको पनि मूल्य ह्वात्तै बढेको छ।
एमएलएसमा मेस्सी हेर्न कति लाग्छ खर्च ?
औसतमा, DRV PNK स्टेडियममा इन्टर मियामी खेलको टिकटको औसत मूल्य २ सय ८० अमेरिकी डलर रहेको छ। मियामीको खेल हेर्नको लागि सबै भन्दा सस्तो टिकेट मूल्य ९० रहेको छ। पूरा सिजन टिकेटको मूल्य ७ हजार ६ सय ५० डलर रहेको बताइएको छ।
सेप्टेम्बर २१ मा यान्की स्टेडियममा हुने न्यूयोर्क सिटी र मियामी बीचको खेलको टिकेट मूल्य ४ सय १९ डलरबाट सुरु हुनेछ। अप्रिल १३ मा चिल्ड्रेन्स मर्सी पार्कमा हुने स्पोर्टिंग केसी र मियामी बीचको खेलको मूल्यको सुरुवाती मूल्य पनि ४ सय १९ डलर रहेको बताइएको छ।