एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार प्रिमियर लिग क्लब चेल्सीले यस जनवरी ट्रान्सफर विन्डोमा गोलको खडेरीबाट राहत पाउनको लागि केहि खेलाडी भित्र्याउने योजना बनाएको छ।
गोलको मामलामा क्लबमा अहिले रहेका खेलाडीले खासै राम्रो गर्न नसक्दा चेल्सी गोल गर्न सक्ने खेलाडीको खोजिमा जुटेको हो। चेल्सीको नजरमा दुई दिग्गज फरवार्ड रहेको केहि खेल मिडियाहरुले दावी गरिरहेका छन्।
बाहिर आएको रिपोर्ट अनुसार चेल्सीले ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनो र फ्रेन्च स्टार करिम बेन्जेमालाई नजिकबाट नियालिरहेको छ। क्लबले दुई मद्ये एकलाई लोनमा भित्र्याउन चाहेको बताइएको छ।
फर्मिनो र बेन्जेमा दुवै यति बेला साउदीमा छन्। दुवै गत समर ट्रान्सफर विन्डोमा साउदी पुगेका हुन्। फर्मिनो अल-अहली र बेन्जेमा अल इत्तिहादबाट खेलिरहेका छन्।
तर दुवैले साउदीमा अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। यस्तोमा चेल्सीले दुई मद्ये एकलाई लोनमा भित्र्याएर गोल समस्यालाई समाधान गर्न चाहेको बेलायती मिडियाहरुको भनाई छ।