एजेन्सी – अल-हिलाल मुख्य प्रशिक्षक जर्ज जेससले प्रतिद्वन्दी क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको खुलेर प्रशंसा गरेका छन्।
एक कुराकानीका क्रममा जेससले रोनाल्डोको खुलेर प्रशंसा गरेका हुन्।
अन्तर्वार्ताका क्रममा उनले रोनाल्डो र ब्राजिलियन स्टार नेयमार बीचको भिन्नता बारे बोले। जेससका अनुसार क्रिस्टियानो रोनाल्डो फुटबलमा बढी समर्पित छन्।
रोनाल्डो फुटबल प्रति बढी समर्पित रहेको र उनले फुटबललाई नै बढी प्राथमिकतामा राख्ने जेससको भनाई छ। तर नेयमारलाई अन्य चीजहरूप्रति बढी लगाव रहेको जेससले बताए।
“क्रिस्टियानो रोनाल्डोको फुटबलप्रति बढी जोश छ र त्यसैले यसलाई प्राथमिकतामा राख्छन्। नेयमारलाई अन्य चीजहरूप्रति बढी लगाव छ। तर एक खेलाडीको रूपमा नेयमार शानदार छन्।”,जेससले भने।
ब्राजिलियन सुपरस्टार पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट करिब ९० मिलियन युरोमा अल हिलाल पुगेका हुन्। उनले अल-हिलालसँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।
तर अहिले चोटका कारण नेयमार अल हिलालका लागि खेल्न भने सकिरहेका छैनन्। नेयमार केहि समय अगाडी घाइते भएका थिए। उनको खुट्टाको शल्यक्रिया गरिएको थियो।