November 10, 2024

एजेन्सी – एएफसी एसियन कपमा भारतले अर्को हार बेहोरेको छ। प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासंग पराजित भएको भारत बिहिबार राति उज्वेकिस्तानसँग पराजित भएको हो।

उज्वेकिस्तानले भारतलाई ३-० को नमिठो हार चखायो। भारतले उज्वेकिस्तान विरुद्धको खेलमा बलमा बढी नियन्त्रण राखेपनि गोल गर्न नसक्दा हार बेहोर्यो।

भारतले बलमा कुल ५३ प्रतिशत नियन्त्रण राखेको थियो। खेलको चौंथो मिनेटमै भारत एक गोलले पछि परेको थियो। उज्वेकिस्तानका अब्बोशेख फयजुलाएभले पहिलो गोल गरेका थिए।

खेलको १८ औं मिनेटमा उज्वेकिस्तानले अग्रता दोब्बर बनायो। १८औं मिनेटमा इगोर सर्गेवले गोल गरेका थिए। त्यसपछि पहिलो हाफको अन्त्य तिर शेरजोड नस्रुलोएभले तेस्रो गोल गरे।

दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन्। एसियन कपमा लगातार दोस्रो पटक छनोट भएको भारतले लगातार दुई खेलमा हार बेहोर्दा अर्को चरणमा प्रवेश गर्ने सम्भावना कम बन्दै गएको छ।

भारत अहिले समूह ‘बि’को अन्तिम स्थानमा छ। पहिलो स्थानमा ६ अंक सहित अष्ट्रेलिया छ भने दोस्रो स्थानमा ४ अंक सहित उज्वेकिस्तान छ। एक अंक सहित सिरिया तेस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *