एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले लिग लिडर भन्दा केहि पछि रहेपनि आफूहरुले लालिगा जित्ने सम्भावना कायमै रहेको बताएका छन्।
लालिगामा रियल बेटिसको सामना गर्नु अगाडी आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा अवस्था सहज नभएपनि बार्सिलोना लालिगाको उपाधि होडमा रहेको बताएका हुन्।
खराब लयबाट कम्ब्याक गर्दै लालिगा उपाधि जित्न प्रयास गर्ने जाभीको प्रण छ। सबै शक्ति लगाएर सिजनको दोस्रो हाफको सामना गर्न आफूहरु तयार रहेको जाभीले सुनाए।
“हामी पूर्ण आशावादी भएर सिजनको दोस्रो हाफको सामना गर्छौं। स्थिति सजिलो छैन, यो गाह्रो छ किनभने हामी र म्याड्रिड वा गिरोना बीच ठूलो अंकको अन्तर छ। लालिगा उपाधि एउटा सम्भव कुरा हो। हामी कम्ब्याकको प्रयास गर्नेछौं।”,जाभीले भने।
गत सिजन लालिगा जितेको बार्सिलोना यस सिजन भने खासै लयमा छैन। बार्सिलोना अहिले लालिगाको चौंथो स्थानमा छ। शिर्ष स्थानको गिरोना बार्सिलोना भन्दा ८ अंकले अगाडी छ।
यधपी गिरोनाले एक खेल बढी खेलेको छ। समान १९ खेल खेलेको रियल म्याड्रिड बार्सिलोना भन्दा ७ अंकले अगाडी छ। बार्सिलोनाले यस सिजन २ खेलमा पराजय भोग्दा ५ खेलमा बराबरीमा रोकिएको छ। १२ जित सहित उसको ४१ अंक छ।