September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार प्रिमियर लिग क्लब लिभरपुलका स्टार मोहम्मद सलाह लिभरपुल छाडेर साउदी जाने सम्भावना बढेको छ।

क्लबका प्रशिक्षक योर्गेन क्लोपले क्लब छाड्ने घोषणा गरेसंगै सलाहका लागि साउदी अरेबिया जाने ढोका खुलेको विभिन्न बेलायती मिडियाहरुले दावी गरेका छन्।

सलाहलाई गत समर ट्रान्सफर विन्डोमा साउदीले भित्र्याउन चाहेको थियो। सलाहका लागि साउदी क्लब अल इतिहादले ठूलो प्रस्ताव पनि पठाएको थियो।

इतिहाद सलाहका लागि १ सय ५० मिलियन पाउण्ड सम्म तिर्न तयार थियो। तर त्यसबेला लिभरपुलले सलाहलाई बिक्री गरेन। क्लोपले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय गरेसंगै अब लिभरपुलले सलाहलाई बिक्री गर्ने सम्भावना बढेको छ।

क्लोपको बहिर्गमन पश्चात लिभरपुलमा कयौं परिवर्तन हुने सम्भावना छ। अब लिभरपुलले नयाँ प्रशिक्षक अन्तर्गत नयाँ परियोजनाको सुरु गर्नेछ र त्यसको लागि सलाह बिक्री गरेर आर्थिक श्रोत जुटाउन सक्छ।

सलाह क्लोपका मुख्य हतियार रहँदै आएका छन्। सलाह र क्लोपले लिभरपुलका लागि सबै उपाधि जितेका छन्। दुई बीच धेरै राम्रो सम्बन्ध पनि रहँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *