September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डच मिडफिल्डर फ्रेन्की डे जोङले बार्सिलोनाको हारको जिम्मेवारी खेलाडीहरुले लिने बताएका छन्। लालिगाको पछिल्लो खेलमा भिल्लारियलसंग पराजित भएपछि जोङले हारको जिम्मेवारी खेलाडीहरुले लिने बताएका हुन्।

शनिबार राति बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियलको सामना गर्यो। सो खेलमा बार्सिलोना ५-३ को गोल अन्तरले पराजित भयो। खेलपश्चात कुराकानी गर्नेक्रममा जोङले हारको जिम्मेवारी खेलाडीहरुले लिने मात्र बताएनन्, प्रशिक्षक जाभीमा पूर्ण विश्वास रहेको पनि उल्लेख गरे।

“यो हाम्रो गल्ती हो, खेलाडीहरूको गल्ती – यदि यो काम गर्दैन भने, यो हाम्रो गल्ती हो। जाभी र स्टाफमा पूर्ण विश्वास छ। उनीहरूले राम्रो काम गरिरहेका छन्।”,उनले भने।

बार्सिलोनाको निरन्तरको कम्जोर प्रदर्शन पछि क्लबका प्रशिक्षक जाभीले क्लब छाड्ने घोषणा गरिसकेका छन्। जाभीका अनुसार उनले यस सिजनको अन्त्यमा क्लब छाड्ने छन्।

बार्सिलोनाले यस सिजन स्पेनिस सुपर कप, कोपा डेल रे जस्ता उपाधि गुमाइसकेको छ भने लालिगामा पनि खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। बार्सिलोना अहिले लिगको तेस्रो स्थानमा छ।

सिजनका २१ खेल मात्र सकिएको अवस्थामा बार्सिलोना रियल भन्दा १० अंकले पछि परिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *