एजेन्सी – फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट जर्मेन(पिएसजी) रोकिएको छ। आइतबार राति भएको खेलमा पिएसजी अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो।
घरेलु मैदानमा भएको खेलमा पिएसजी ब्रेस्टसँग २-२ को बराबरीमा रोकियो। पहिलो हाफमा २-० को अवस्थामा रहेको पिएसजीले दोस्रो हाफमा दुई गोल बेहोर्यो।
पिएसजीका लागि मार्को असेन्सियो ३८ औं र रान्डाल कोलो मुआनी ४५औं मिनेटमा गोल गर्दा पाहुना टोलीका लागि महदी कामारा ५५ औं र म्याथियस परेराले ८०औं मिनेटमा बराबरी गोल फर्काए।
पिएसजीका फरवार्ड ब्राड्ली बारकोलाले इन्ज्युरी समयमा रातो कार्ड बेहोरे। जससंगै पिएसजी १० खेलाडीमा सिमित हुन पुग्यो। ब्रेस्ट विरुद्धको खेलमा पिएसजीका फ्रेन्च स्टार किलियन एम्बाप्पे खासै चल्न सकेनन्।
एक हिसाबले भन्ने हो भने ब्रेस्ट विरुद्धको खेलमा एम्बाप्पे बेपत्ता जस्तै थिए। यस बराबरीमा बाबजुत पिएसजी लिग वानको शिर्ष स्थानमा छ। सिजनका १९ खेल मद्ये पिएसजीले १३ खेलमा जित निकालेको छ।
एक हार र ५ बराबरी सहित पिएसजीले ४४ अंक बनाएको छ। शिर्ष स्थानमा पिएसजीको स्पष्ट ६ अंकको अग्रता छ। त्यस्तै तेस्रो स्थानमा रहेका ब्रेस्टले ३५ अंक बनाएको छ।