September 19, 2024

एजेन्सी – उपाधि दाबेदार मानिएको दक्षिण कोरिया कतारमा जारी एसियन कपबाट बाहिरिएको छ। सेमिफाइनलमा जोर्डनसंग पराजित भएसंगै कोरिया कतारमा जारी एसियन कपबाट बाहिरिएको हो।

बलमा राम्रो नियन्त्रण राखे पनि आक्रमणमा चुक्दा मंगलबार दक्षिण कोरिया जोर्डनसंग २-० को गोल अन्तरले पराजित भयो। जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा प्रवेश गर्यो।

जोर्डनका लागि याजान अल नैमात र मूसा अल तामरीले गोल गरे। दुवै गोलमा मूसा अल तामरीको महत्वपूर्ण भूमिका थियो। नैमातले गरेको गोलका लागे मूसा अल तामरीले नै असिस्ट दिएका थिए।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन। तर खेलको ५३औं मिनेटमा मूसा अल तामरीको पासमा बक्सको मध्यभाग बाट गोलकिपर माथि चिप गर्दै याजान अल नैमातले गोल गरे।

खेलको ६६ औं मिनेटमा जोर्डनले अग्रता दोब्बर पार्यो। मैदानको मध्यभाग बाट बल लिए अगाडी बढेका तामरीले सोलो गोल गरे। त्यसपछि कुनै पनि टोलीबाट गोल नहूँदा जोर्डन २-० को गोल अन्तरले विजयी भयो।

जोर्डनले अब फाइनलमा कतार र इरान बीच हुने दोस्रो सेमिफाइनलको विजेता विरुद्ध फाइनल खेल्नेछ। फाइनल शनिबार हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *