एजेन्सी – आगामी समर ट्रान्सफर विन्डोमा प्रिमियर लिगका एक खेलाडीका लागि प्रिमियर लिगकै तीन क्लब बीच कडा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ।
प्रिमियर लिग क्लब ब्रेन्टफोर्डका स्ट्राइकर इभान टोनीका लागि प्रिमियर लिगका तीन क्लब बीच प्रतिष्पर्धा हुने देखिएको हो। उनका लागि म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सी बीच प्रतिष्पर्धा हुने बताइएको छ।
एफए सट्टेबाजी नियम उल्लङ्घन गरेको आरोपमा आठ महिनाको प्रतिबन्धबाट मुक्ति पाएपछि केहि समय अगाडी उनी टोलीमा फिर्ता भएका छन्। त्यसयताका दुई खेलमा उनले दुई गोल गरिसकेका छन्।
चेल्सी र आर्सनल दुवैले गत समर ट्रान्सफर विन्डोमा नै टोनीलाई भित्र्याउन चाहेका थिए। तर त्यसबेला कुनै पनि क्लब उनलाई भित्र्याउने मामलामा सफल हुन सकेको थिएन।
ब्रेन्टफोर्डले टोनीका लागि १ सय मिलियन युरो आसपास रकम माग गर्ने प्रारम्भिक रिपोर्टहरु आइरहेका छन्। पछिल्लो रिपोर्टका अनुसार टोनी भित्र्याउने दौडमा युनाइटेड पनि सामेल हुन सक्छ।
यसैबीच ट्रान्सफर बजारका भरपर्दा जानकार फाब्रिजियो रोमानोले पनि टोनीका लागि आर्सनल, चेल्सी र म्यानचेस्टर युनाइटेड बीच प्रतिष्पर्धा हुन सक्ने बताएका छन्।