एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो एक पटक पुनः सान्टियागो बर्नाबेउ फर्किन सक्छन्। रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउको उद्घाटनका लागि रोनाल्डो म्याड्रिड फर्किन सक्ने दावी विभिन्न खेल मिडियाहरुले गरेका हुन्।
रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो र उनको साउदी अरेबियाको टोली अल-नासरलाई नयाँ सान्टियागो बर्नाबेउको उद्घाटनमा आमन्त्रित गरेको स्पेनिस मिडियाहरुले जनाएका छन्।
नयाँ स्यान्टियागो बर्नाबेउको उद्घाटनको कुनै मिति तय नभएपनि रोनाल्डो र उनको टोली म्याड्रिड आउन सक्ने चर्चा गएको केहि समय देखि चलिरहेको छ।
रियलको आइकनिक स्टेडियम सान्टियागो बर्नाबेउको पुनर्निर्माण केहि समय देखि चलिरहेको छ र सो पुनर्निमाण आगामी सिजन देखि सन् २०२५ सम्ममा पूरा हुन सक्छ।
रोनाल्डोले सन् २०१८ मा रियल म्याड्रिड छाडेका थिए। रोनाल्डोले रियलमा हुँदा करियरकै उच्च प्रदर्शन गरेका थिए। उनले रियललाई लगातार तीन च्याम्पियन्स लिग जित्न मद्दत गरेका थिए। रियलमा रहेर रोनाल्डोले कुल चार च्याम्पियन्स लिग जितेका थिए।
रोनाल्डो रियलबाट युभेन्टस पुगेका थिए भने त्यहाँबाट म्यानचेस्टर युनाइटेड फर्किएका थिए। त्यहाँबाट साउदी क्लब अल नासर पुगेका उनी ३९ वर्षको उमेरमा पनि सानदार प्रदर्शन गरिरहेका छन्।