एजेन्सी – चिनियाँ खेलकुद अधिकारीहरूले आगामी महिना चीनमा अहुने भनिएको अर्जेन्टिना र नाइजेरियाबीचको मैत्रीपूर्ण खेल रद्द गरेका छन्। विभिन्न मिडियाहरुका अनुसार आगामी महिनाका लागि तय भएको अर्जेन्टिना र नाइजेरियाबीचको मैत्रीपूर्ण खेल रद्द गरिएको हो।
यस साताको सुरुवातमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको अमेरिकी क्लब इन्टर मियामीले हङकङ ११ को सामना गरेको थियो। मियामीले जितेको सो खेलमा मेस्सी खेलेका थिएनन्।
मेस्सीले नखेलेपछि त्यहाँका फुटबल प्रेमी आक्रोशित बनेका थिए। मेस्सी खेल्ने भनेर स्टेडियम पुगेका हजारौं समर्थक मेस्सी नखेल्दा निराश भएका थिए भने उनीहरुले आक्रोश पोखेका थिए।
सो घटना पश्चात हांग्जाउ खेलकुद अधिकारीहरूले नाइजेरिया विरुद्ध अर्जेन्टिनाको मैत्रीपूर्ण खेल रद्द गर्ने निर्णय गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।
“व्यावसायिक कार्यक्रमको रूपमा, एक कम्पनी र अर्जेन्टिनाको फुटबल टोलीले यस वर्षको मार्चमा हांग्जो शहरमा मैत्रीपूर्ण खेल खेल्ने कुरामा वार्ता गर्यो। वर्तमान ज्ञात कारणहरूलाई ध्यानमा राख्दै, सक्षम अधिकारीहरूका अनुसार, मैत्रीपूर्ण खेल आयोजना गर्ने अवस्था परिपक्व छैन, त्यसैले (हामीले) यसलाई रद्द गर्ने निर्णय गरेका छौं।”,हांग्जाउ खेलकुदका एक अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्।
हङकङ प्रकरण पश्चात चिनियाँ फुटबल प्रेमी मेस्सीसंग धेरै नै आक्रोशित देखिएका कारण खेल रद्द गरिएको बुझिएको छ। यस्तै बेइजिङमा आइभरी कोस्ट विरुद्धको अर्जेन्टिनाको अर्को मैत्रीपूर्ण खेल पनि रद्द हुन सक्ने सम्भावना बढेको छ।