एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार स्पेनिस महारथी रियल म्याड्रिडबाट गरिएको प्रस्तावलाई लिएर फ्रेन्च स्टार किलियन एम्बाप्पे कन्भिन्स हुन सकिरहेका छैनन्।
आगामी समर ट्रान्सफर विन्डोमा रियल जान सक्ने बाटोमा रहेका एम्बाप्पे रियलबाट आएको प्रस्तावलाई लिएर कन्भिन्स हुन नसकेका हुन्। रियलको प्रस्ताव एम्बाप्पेलाई मन नपरेको बताइएको छ।
एथलेटिकको एक रिपोर्ट अनुसार एम्बाप्पेको झुकाव रियल तर्फ रहेपनि बर्नाबेउको प्रस्तावबाट उनी खुशी छैनन्। रियलले एम्बाप्पेलाई दुई वर्ष अगाडी गरिएको भन्दा पनि कम पारिश्रमिक सहितको प्रस्ताव गरेको एथलेटिकले जनाएको छ।
अहिले एम्बाप्पेले पिएसजीमा वार्षिक ७५ मिलियन युरो पारिश्रमिक पाइरहेका छन्। रियल पिएसजीले दिरहेको जस्तो उच्च पारिश्रमिक दिन सक्ने अवस्थामा नरहेको बुझिएको छ।
रियल एम्बाप्पेलाई साइनिङ बोनस दिन तयार रहेपनि पिएसजीले दिँदै आएको भन्दा आधा मात्र पारिश्रमिक दिन तयार देखिएको छ। उता पिएसजीले पनि एम्बाप्पेको विषयमा हार मानिसकेको छैन।
पिएसजीले एम्बाप्पेलाई फकाउने काम जारी नै राखेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।