September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोनाले क्लबका एक खेलाडीको ट्रान्सफर मूल्य तोकेको छ। आगामी समर ट्रान्सफर विन्डोमा सम्भावित बिक्री हुन सक्ने एक खेलाडीको मूल्य क्लबले तोकेको केहि खेल मिडियाहरुले दावी गरेका हुन्।

बार्सिलोनाका डच मिडफिल्डर फ्रेन्की डे जोङमा प्रिमियर लिगका केहि क्लबहरुले चासो देखाएको र एक क्लबले फ्रेन्की डे जोङ भित्र्याउनको लागि तयारी समेत गरेको विभिन्न खेल मिडियाहरुले दावी गरिरहेका छन्।

रिपोर्टहरुका अनुसार प्रिमियर लिग क्लब टोटेनह्याम फ्रेन्की डे जोङका लागि ६० मिलियन युरो सम्म तिर्न तयार रहेको बताइएको छ। तर बार्सिलोना सो रकममा आफ्ना महत्वपूर्ण खेलाडीलाई बिक्री गर्ने मुडमा देखिँदैन।

फ्रेन्की डे जोङका लागि बार्सिलोनाले १ सय मिलियन युरो सम्म माग गर्ने प्रारम्भिक रिपोर्टहरु आएका छन्। गएको केहि समय देखि बार्सिलोना चरम आर्थिक संकटमा छ।

सोहि कारण बार्सिलोना फ्रेन्की डे जोङलाई आगामी समर ट्रान्सफर विन्डोमा बिक्री गर्न बाद्य हुन सक्ने बताइन्छ। डे जोङ सन् २०१९ मा डच क्लब आयक्सबाट बार्सिलोना आइपुगेका थिए।

त्यसबेला बार्सिलोनाले उनका लागि ८६ मिलियन युरो खर्च गरेको थियो। उनी त्यसपछि ब्लुग्रानाका लागि २ सय ६ पटक मैदानमा उत्रिएका छन्। जसमा उनले १६ गोल गरेका छन् र २१ असिस्ट प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *