September 20, 2024

एजेन्सी – अन्ततः स्पेनिस महारथी रियल म्याड्रिड र फ्रेन्च स्टार किलियन एम्बाप्पे दुवैको योजना सफल हुने देखिएको छ। एम्बाप्पेले पिएसजी छाड्ने निर्णय गरेसंगै एम्बाप्पे र रियल दुवै पक्षको योजना सफल हुने देखिएको हो।

हालसालै एम्बाप्पेले पिएसजीलाई आफू यस सिजनको अन्त्यमा क्लब छाड्ने निर्णयमा पुगेको जानकारी दिएको खबर आएको थियो। खबरका अनुसार एम्बाप्पेले पिएसजी अध्यक्ष नासेर अल खेलाइफीलाई पिएसजी छाड्ने आफ्नो निर्णय सुनाइसकेका छन्।

यससंगै एम्बाप्पेले फ्री ट्रान्सफरमा पिएसजी छाड्ने पक्का भएको छ। खबरका अनुसार एम्बाप्पेले पिएसजीको बोनस रकममा दावी गर्ने छैनन् र उनले फ्री ट्रान्सफरमा क्लब छाड्नेछन्।

यसको अर्थ एम्बाप्पेलाई रियलले फ्री ट्रान्सफरमा भित्र्याउन सक्नेछ। एम्बाप्पेका लागि अब रियलले कुनै पनि रकम पिएसजीलाई तिर्नुपर्ने छैन। रियलले चाहेको पनि यहि थियो।

एम्बाप्पेले पिएसजीसंगको सम्झौता थप गरेको भए रियलले एम्बाप्पेका लागि २ सय मिलियन युरो सम्म खर्च गर्नुपर्ने हुन सक्थ्यो। तर ट्रान्सफर अब रियल र एम्बाप्पे पक्षको अधिनमा रहनेछ।

एम्बाप्पेले सन् २०२२ मा पिएसजीसंगको सम्झौता नवीकरण गरेका थिए। त्यसबेला उनले २ वर्षका लागि सम्झौता गरेका थिए। सम्झौतामा एक वर्ष थप गर्ने विकल्प समेत थियो। तर एम्बाप्पेले पिएसजीसंगको सम्झौता थप नगर्ने निर्णय गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *