एजेन्सी – आइतबार राति प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लागि डेनिस स्ट्राइकर रासमुस होएलण्डले सानदार प्रदर्शन गरे। उनकै उच्च प्रदर्शनमा युनाइटेडले लुटन टाउनलाई पराजित गर्यो।
२-१ को गोल अन्तरले लुटन पराजित भएको खेलमा होएलण्डले दुई गोल गरेका थिए। उनले खेल सुरु भएको मात्र ३६ सेकेण्डमा होएलण्डले खाता खोलेका थिए।
सो गोलसंगै होएलण्डले एक रेकर्ड पनि बनाए। लुटन विरुद्धको गोलसँगै पूर्व एटलान्टा फरवार्ड प्रिमियर लिगमा लगातार ६ खेलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने।
उनले शुरुवाती मिनेटमा गोल गर्दै जो विलोकको २१ वर्ष २७२ दिन पुरानो रेकर्ड तोडे। डेनमार्क अन्तर्राष्ट्रियले २१ वर्ष १४ दिन को उमेरमा सो रेकर्ड बनाएका हुन्।
यसै सिजन युनाइटेड आइपुगेका होएलण्ड सिजनको सुरुवातमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि पछिल्लो समय भने क्रमिक रुपमा लयमा फर्किने क्रममा छन्।
उनले युनाइटेडका लागि यस सिजन सबै प्रतियोगिताका ३० खेलमा १३ गोल गरेका छन् भने २ असिस्ट दिएका छन्।