September 20, 2024

एजेन्सी – फ्रान्सका पूर्व अन्तर्राष्ट्रिय खेलाडी इमानुएल पेटिटले फ्रेन्च स्टार किलियन एम्बाप्पे नभित्र्याउन रियल म्याड्रिडलाई सुझाव दिएका छन्। एक कुराकानीका क्रममा पेटिटले एम्बाप्पेलाई रियलले भित्र्याउन नहुने बताएका हुन्।

विश्व कप विजेता फ्रान्सेली स्टार पेटिटले एएससंग कुराकानी गर्नेक्रममा एम्बाप्पेको ट्रान्सफरको सम्बन्धमा के हुन्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको र सो थाहा पाउन सारा फ्रान्सेली जनता कुरिरहेको बताए।

“मलाई थाहा छैन के हुनेवाला छ र इमानदारीपूर्वक भन्नुपर्दा हामी ६-७ करोड फ्रान्सेली जनता उनको निर्णय थाहा पाउन आतुर छौँ। सायद उनी म्याड्रिड जान्छन्, सायद उनी पेरिसमा बस्छन्, सायद उनी अन्त पनि जान सक्छन्।”,पेटिटले भने।

एम्बाप्पेले जे निर्णय लिएपनि एम्बाप्पे भित्र्याउनेले रियलका लागि भने समस्या पैदा गर्ने पेटिटले बताए। पारिश्रमिकको हिसाबले मात्र नभई नेतृत्वको हिसाबले पनि रियलमा समस्या पैदा हुन सक्ने उनको भनाई छ।

पेटिटका अनुसार रियल गएपछि एम्बाप्पेले एक स्ट्राइकरको रुपमा खेल्नुपर्ने हुन सक्छ। एम्बाप्पेका लागि स्ट्राइकर उत्कृष्ट भूमिका हुन नसक्ने पेटिटको भनाई छ।

उनले भने,”यदि एम्बाप्पे म्याड्रिड गए भने त्यो समस्या हुन सक्छ। ड्रेसिङ रुममा पारिश्रमिकको हिसाबले मात्र होइन, नेतृत्वको हिसाबले पनि। भिनिसियस जुनियर जस्तै बेलिङह्यामले पनि सबैलाई चकित पारिरहेका छन्। रियल जाने हो भने एम्बाप्पेले स्ट्राइकरको रुपमा खेल्नु पर्नेछ, जुन एम्बाप्पेको उत्कृष्ट स्थान होइन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *