एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार पूर्व बार्सिलोना सुपरस्टार नेयमारले ब्राजिलियन फुटबलर ड्यानी आल्भेसलाई आर्थिक सहयोग गरेका छन्।
बलात्कार मुद्दामा सजाय भोगिरहेका ड्यानी आल्भेसलाई कानूनी खर्चमा मद्दत गर्न नेयमारले आर्थिक सहयोग गरेको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।
नेयमारले आल्भेसलाई डेढ लाख युरो सहयोग पठाएको डेली मेलले जनाएको छ। केहि दिन अगाडी मात्रै एक अदालतले आल्भेसलाई बलात्कार कसुसमा दोषी करार गर्दै ४ वर्षे जेल सजाय सुनाएको थियो।
बलात्कार आरोपमा आल्भेस सन् २०२३ मा पक्राउ परेका थिए। लामो समय चलेको सुनुवाई पश्चात अदालतले आल्भेसलाई चार वर्षको सजाय संग-संगै पिडितलाई क्षतिपूर्ति तिर्न पनि आदेश दिएको छ।
यस्तोमा नेयमारले आर्थिक सहयोग गरेपछि आल्भेसलाई ठूलो राहत मिलेको बताइएको छ। यस्तै नेयमारले आल्भेसको मुद्दा लड्नको लागि एक वकिलको समेत व्यवस्था गरेको स्पेनिस खेल मिडियाहरुले जनाएका छन्।
सजाय कटौतीको बावजुद, अल्वेसका वकिलले उच्च अदालतमा पुनरावेदन गर्ने निर्णय लिएका छन्। अल्वेसले लगातार आफ्नो निर्दोषता दाबी गर्दै आएका छन्।