एजेन्सी – जर्मन बुन्डेसलिगामा लिग लिडर बायर लेभरकुसेनले अर्को जित निकालेको छ। सन् २०२३-२४ को सिजनमा अपराजित बायर लेभरकुसेनले शुक्रबार राति पनि जित निकालेको हो।
बायर लेभरकुसेनले शुक्रबार राति घरेलु मैदानमा माइन्जलाई २-१ को गोल अन्तरले पराजित गर्यो। लेभरकुसेनका लागि ग्रानिट झाका र रोबर्ट एन्ड्रिचले एक-एक गोल गर्दा माइन्जका लागि डोमिनिक कोहरले गोल गरे।
खेलको तेस्रो मिनेटमै ग्रानिट झाको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो। तर खेलको सातौं मिनेटमा पाहुना टोलीले बराबरी गोल फर्कायो। सो गोल कोहरले गरेका थिए।
त्यसपछि पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेनन्। दोस्रो हाफमा भने लेभरकुसेनका लागि रोबर्ट एन्ड्रिचले गोल गरे। सो गोल खेलको ६८ औं मिनेटमा आएको थियो।
खेलको ८० औं मिनेटमा माइन्ज १० खेलाडीमा समेटियो। जेसिक नगानकम रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिएसंगै माइन्ज १० खेलाडीमा समेटिएको हो।
यस जितसंगै लेभरकुसेनले बुन्डेसलिगामा ११ अंकको अग्रता बनाएको छ। २३ खेलमा १९ जित र चार बराबरी सहित ६१ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको बायर्न म्युनिखले एक खेल कम खेल्दा ५० अंक बनाएको छ। त्यस्तै माइन्ज भने २३ खेलबाट १५ अंक जोडेर १७ औं स्थानमा छ।