एजेन्सी – जर्मन बुन्डेसलिगाको लिग लिडर बायर लेभरकुसेनले नयाँ रेकर्ड बनाएको छ। जर्मन बुन्डेसलिगाको पछिल्लो खेलमा जित निकालेसंगै लेभरकुसेनले नयाँ रेकर्ड बनाएको हो।
लेभरकुसेनले सन् २०२३-२४ को सिजनको २३ औं लिग खेलमा शुक्रबार राति माइन्जलाई पराजित गर्यो। लेभरकुसेनको घरेलु मैदानमा भएको खेलमा लेभरकुसेन २-१ को गोल अन्तरले विजयी भयो।
माइन्ज विरुद्धको खेल लेभरकुसेनका लागि यस सिजनको ३३ औं खेल थियो। सबै प्रतियोगिताका ३३ खेलमा बायर लेभरकुसेनले कुनै पनि खेलमा पराजय भोग्न परेको छैन।
माइन्ज विरुद्धको खेलमा जित निकालेसंगै बायर लेभरकुसेनले सबै भन्दा बढी खेलमा अपराजित हुने जर्मन क्लबको रेकर्ड तोडेको छ। यस भन्दा अगाडी सो रेकर्ड बायर्न म्युनिखको नाममा थियो।
बायर लेभरकुसेन अहिले बुन्डेसलिगाको शिर्ष स्थानमा छ। उसले बुन्डेसलिगामा ११ अंकको अग्रता बनाएको छ। २३ खेलमा १९ जित र चार बराबरी सहित ६१ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको बायर्न म्युनिखले एक खेल कम खेल्दा ५० अंक बनाएको छ।
लेभरकुसेन बुन्डेसलिगा मात्र नभई अन्य उपाधि जित्ने दौडमा पनि छ। लेभरकुसेन युरोपा लिगको नकआउट चरणमा पुगिसकेको छ भने डिएफएल पोकालको सेमिफाइनलमा छ।