एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले वर्तमान प्रशिक्षक जाभीलाई थप एक सिजन बार्सिलोनामै राख्ने योजना बनाएको थाहा हुन आएको छ। स्पेनबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले जाभीलाई थप एक सिजन क्लबमै राख्ने योजना बार्सिलोनाले बनाएको खुलासा गरेका हुन्।
जाभीले यस सिजनको अन्त्यमा क्लब छाड्न चाहेको भएपनि बार्सिलोना भने जाभी एक सिजन बार्सिलोनामै रहुन् भन्ने पक्षमा रहेको स्पेनिस पत्रिका स्पोर्टले जनाएको छ।
समाचारमा गरिएको दावीलाई मान्ने हो भने क्लबका अध्यक्ष जोआन लापोर्टाले अनौपचारिक र इमान्दारीपूर्वक रुपमा जाभीसंग छलफल गरेका छन्। छलफलका क्रममा लापोर्टाले क्लबमा एक सिजन थप रहन आग्रह गरेको बताइएको छ।
आर्थिक समस्याका कारण बार्सिलोनालाई नयाँ प्रशिक्षक खोज्न गार्हो परेको स्पोर्टको दावी छ। त्यहि कारणले गर्दा जाभीलाई थप एक सिजन क्लबको जिम्मेवारी सम्हालिदिन लापोर्टाले आग्रह गरेको स्पोर्टले दावी गरेको छ।
निरन्तर कम्जोर प्रदर्शन गरेपछि केहि समय अगाडी जाभीले सार्वजनिक रुपमा क्लब छाड्ने घोषणा गरेका थिए। तर उनले बार्सिलोनाले क्लब छाड्ने घोषणा गरेयता बार्सिलोनाले ठीक-ठाक प्रदर्शन गरिरहेको छ।
बार्सिलोना पछिल्ला ६ खेलमा अपराजित छ। जाभीले गत सिजन बार्सिलोनालाई प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पछि पार्दै चार वर्षको ला लिगा उपाधि खडेरीको अन्त्य गरेका थिए।