एजेन्सी – निरन्तर कम्जोर प्रदर्शन गरिरहेको बायर्न म्युनिख बराबरीमा रोकिएको छ। जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिख शुक्रबार राति बराबरीमा रोकिएको हो।
शुक्रबार राति बायर्न फ्रेइवर्गसंग २-२ को बराबरीमा रोकियो। फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका क्रिष्टियन गन्टर र लुकास होलेरले गोल गरे।
त्यस्तै पाहुना टोलीका लागि बायर्नका म्याथिज टेल र जमल मुसिएलाले एक-एक गोल गरे। खेलको १२औं मिनेटमा निकोलस होफ्लेरको पासमा गन्टरले गोल गर्दै फ्रेइवर्गलाई अग्रता दिलाएका थिए।
३५औं मिनेटमा म्याथिज टेलले गोल गरेसंगै बायर्न खेलमा फर्कियो। ७५औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर बायर्नले त्यसलाई जोगाउन सकेन।
खेलको ८७औं मिनेटमा लुकासले गोल गर्दै खेललाई २-२ को बराबरी पुर्याए। यस बराबरीले बायर्नलाई उपाधि होडमा नराम्रो झड्का लागेको छ। बायर्नले २४ खेलमा ५४ अंक बनाएको छ।
बायर्न शिर्ष स्थानको बायर लिभरकुसन भन्दा ७ अंकले पछि छ। बायरले बायर्न भन्दा एक कम खेल खेलेको छ। त्यस्तै फ्रेइवर्ग ३० अंक जोडेर नवौं स्थानमा रहेको छ।