September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस महारथी रियल म्याड्रिडक पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई भित्र्याउन चाहेको खबर बाहिर आएको छ।

बेलायतबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले जिदानलाई युनाइटेडले क्लबको जिम्मेवारी दिन चाहेको दावी गरेका हुन्। खबरहरुका अनुसार वर्तमान प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गर्नु परेको अवस्थामा जिदानलाई क्लबको जिम्मेवारी दिने योजनामा युनाइटेड रहेको बताइएको छ।

टेन ह्याग सन् २०२२ को समर देखि युनाइटेडको प्रशिक्षकको रुपमा रहेका छन्। युनाइटेड र उनी बीचको सम्झौता अझै १८ महिना बाँकी छ। पहिलो सिजनमा युनाइटेडलाई राम्रो लयमा लैजान सफल भएपनि यस सिजन भने युनाइटेड खासै राम्रो लयमा छैन।

यस सिजन युनाइटेड प्रिमियर लिगमा मात्र नभई अन्य प्रतियोगितामा पनि युनाइटेडले खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। युनाइटेड अब मात्र एफए कपको उपाधि दौडमा छ। तर एफए कपमा पनि उसले कठिन प्रतिद्वन्दी लिभरपुललाई पाएको छ।

सर जिम र्याक्लिफले क्लबमा २७.७ प्रतिशत हिस्सेदारी अधिग्रहण गरेपछि टेन ह्यागको पद धरापमा परेको चर्चा हुन थालेको छ। पेट्रोकेमिकल्स अरबपति र उनको टोलीले अब ओल्ड ट्राफोर्डमा खेलकुद सञ्चालनको नियन्त्रण पाएको छ।

नयाँ खेलकुद सञ्चालन टोली टेन ह्यागलाई हटाएर उनको स्थानमा जिदानलाई ल्याउने योजनामा रहेको बताइन्छ। जिदान रियल म्याड्रिड छाडेदेखि यता कुनै पनि टोलीसंग आवद्ध छैनन्। तर उनले युनाइटेडको जिम्मेवारी लिन्छन्-लिँदैनन् भन्ने कुरा समयले नै बताउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *