September 20, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको अन्तिम १६ को दुवै खेलमा जित निकालेसंगै पिएसजी क्वाटरफाइनलमा प्रवेश गरेको हो।

पिएसजीले मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई उसकै घरेलु मैदानमा २-१ को गोल अन्तरले पराजित गर्यो। जससंगै पिएसजी समग्रमा ४-१ को गोल अन्तरले विजयी हुन पुग्यो।

मंगलबार राति रियल सोसिडाडको घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि फ्रेन्च स्टार किलियन एम्बाप्पेले दुवै गोल गरेका थिए। त्यस्तै घरेलु टोलीका लागि भने एक गोल मिकेल मेरिनोले गरेका थिए।

खेलको १५ औं मिनेटमै एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट थप गोल भएनन्। तर खेलको ५६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे।

खेलको ८९ औं मिनेटमा घरेलु टोलीले जवाफी गोल फर्काएपनि खेलमा कम्ब्याक गर्न सकेन। यस अगाडीको पहिलो लेगमा पिएसजी २-० को गोल अन्तरले वीजयी भएको थियो।

यस जितसंगै पिएसजी सन् २०२०-२१ को सिजन पश्चात पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सन् २०२१-२२ र २०२२-२३ को सिजनमा पिएसजी अन्तिम १६ बाटै आउट भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *