September 20, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामी कोन्काक्याफ च्याम्पियन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कोन्काक्याफ च्याम्पियन्स कपको दोस्रो लेगमा नास्भेल एससीलाई पराजित गरेसंगै मियामी क्वाटरफाइनलमा प्रवेश गरेको हो।

बिहिबार बिहान भएको खेलमा मियामीले नास्भेल एससीलाई ३-१ को गोल अन्तरले पराजित गर्यो। चेज स्टेडियममा भएको खेलमा मियामीका तीन खेलाडीले गोल गरे।

मियामीका लागि लुइस सुआरेज, लियोनेल मेस्सी र रोबेर्ट टेलरले एक-एक गोल गरे। पाहुना टोली नास्भेल एससीका लागि भने एक मात्र गोल साम सुरिड्जले गरेका थिए।

खेलको आठौँ मिनेटमै लुइस सुआरेजको गोलबाट मियामीले अग्रता पाएको थियो। खेलको २३ औं मिनेटमा मियामीको अग्रता दोब्बर भयो। सो गोल अर्जेन्टिनी स्टार मेस्सीले गरेका थिए।

त्यस्तै खेलको ६३ औं मिनेटमा टेलरले गोल गर्दा मियामी ३-० को अग्रतामा पुग्यो। तर खेल को इन्ज्युरी समयको तेस्रो मिनेटमा मियामीले एक गोल बेहोर्यो। सो गोल साम सुरिड्जले गरेका थिए।

पहिलो लेगमा मियामी र नास्भेलले २-२ को बराबरी खेलेका थिए। मियामी समग्रमा ५-३ को जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *