September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की फ्रेन्च स्टार किलियन एम्बाप्पे विरुद्ध लालिगामा खेल्न आतूर देखिएका छन्।

एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर रियल म्याड्रिड आवद्ध हुने बाटोमा रहँदा लेवान्डोस्की लालिगामा एम्बाप्पेको सामना गर्न तयार र आतूर देखिएका हुन्।

किलियन एम्बाप्पेको सामना गर्न आफूहरु तयार रहेको बताउन लेवान्डोस्कीले छुटाएनन्। उनले एम्बाप्पेसँग नडराउने उल्लेख गर्दै एम्बाप्पेको आगमनलाई सकारात्मक रुपमा लिने बताए।

“किलियनलाई जानेको र पहिला कुराकानी गरेको आधारमा मलाई थाहा छ कि ला लिगामा उनी विरुद्ध खेल्नु गज्जब हुनेछ। यदि उनी यहाँ आए भने उनको सामना गर्न रमाइलो हुनेछ। हामी डराउने छैनौं, म सकारात्मक रूपमा लिनेछु।”,पोल्याण्डका स्ट्राइकरले एक कुराकानीका क्रममा भने।

एम्बाप्पेले पिएसजी छाड्ने निर्णय गरिसकेका छन्। सो निर्णय उनले केहि समय अगाडी क्लबलाई पनि जानकारी गराएका थिए। पिएसजी छाड्ने निर्णय गरिसकेका उनले रियल आवद्ध हुने निर्णय पनि गरिसकेका छन्।

एम्बाप्पे र रियल म्याड्रिड पक्ष बीच निरन्तर छलफल चलिरहेको छ। दुई पक्ष बीच केहि आर्थिक विषयमा मात्रै सहमति हुन बाँकी छ। छिट्टै दुई पक्ष बीच सम्झौता हुने खबर आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *