September 20, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मा अन्तिम सिजन खेलिरहेका छन्। पिएसजी छाड्ने निर्णय गरिसकेका उनी रियल म्याड्रिड आवद्ध हुने बाटोमा छन्।

पिएसजीबाट च्याम्पियन्स लिग जित्ने योजना निरन्तर असफल हुँदै आएपनि एम्बाप्पेले अन्तिम सिजनमा पिएसजीसँग च्याम्पियन्स लिग जित्ने सम्भावना भने जिवितै छ।

पिएसजीले क्वाटरफाइनलमा क्याटलान क्लब बार्सिलोनालाई प्रतिद्वन्दीको रुपमा भेट्टाएको छ। शुक्रबार भएको च्याम्पियन्स लिगको ड्र अनुसार पिएसजीले क्वाटरफाइनलमा बार्सिलोनाको सामना गर्नेछ।

क्वाटरफाइनलको पहिलो लेग पिएसजीको घरेलु मैदानमा हुनेछ भने दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ। बार्सिलोना यस सिजन पछिल्लो सिजनको जस्तो राम्रो लयमा छैन।

पिएसजीले त्यसको फाइदा उठाउन सक्छ। पछिल्लो पटक यी दुई टोली २०२१ मा अन्तिम १६ आमने-सामने भएका थिए। त्यसबेला पिएसजी समग्रमा ५-१ को गोल अन्तरले विजयी भएको थियो।

यस पटक पनि बलियो प्रदर्शन गर्ने हो भने पिएसजीले बार्सिलोनालाई पराजित गर्न सक्छ। त्यसो गर्ने हो भने पिएसजीले सेमिफाइनलमा एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमुन्ड बीचको विजेताको सामना गर्नेछ।

पिएसजीले यस सिजन क्वाटरफाइनल र सेमिफाइनलमा रियल म्याड्रिड, बायर्न म्युनिख र म्यानचेस्टर सिटी जस्ता टोलीको सामना गर्नु पर्ने छैन। यसको अर्थ पिएसजीलाई यस पटक फाइनल पुग्ने अवसर छ। तर त्यसको लागि एम्बाप्पेले पिएसजीका लागि सानदार प्रदर्शन गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *