एजेन्सी – फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन(पिएसजी)ले सानदार जित दर्ता गरेको छ। आइतबार राति पिएसजीले गोल वर्षा गर्दै लिग वानमा सिजनको १७ औं जित दर्ता गरेको हो।
पिएसजीले आइतबार राति मोन्टपेलियरलाई उसकै घरेलु मैदानमा ६-२ को गोल अन्तरले पराजित गर्यो। पिएसजीको सानदार जितमा किलियन एम्बाप्पेले ह्याट्रिक पूरा गरे।
त्यस्तै भिटिन्हा, ली काङ्ग इन, नुनो मेन्डेसले एक-एक गोल गरे। त्यस्तै घरेलु टोलीका लागि भने अर्नाउड नोर्डिन र तेजी टेडी सावनियरले एक-एक गोल गरे।
खेलको १४ औं मिनेटमै भिटिन्हाको गोलबाट पिएसजीले अग्रता पाएको थियो। त्यसपछि खेलको २२ औं मिनेटमा गोल गर्दै एम्बाप्पेले पिएसजीको अग्रता दोब्बर पारे।
खेलको ३० औं मिनेटमा घरेलु टोलीले एक गोल फर्कायो। सो गोल नोर्डिनले गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सावनियरले गोल गर्दै पिएसजीसँग बराबरी गरे।
तर खेलको ५० औं मिनेटमा व्यक्तिगत गोल गर्दै एम्बाप्पेले खेललाई ३-२ को अवस्थामा पुर्याए। खेलको ५३ औं मिनेटमा ली काङ्ग इनले गोल गर्दा खेल ४-२ को अवस्थामा पुग्यो।
खेलको ६३ औं मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा पिएसजी ५-२ को गोल अन्तरले अगाडी बढ्यो। खेलको ८९ मिनेटमा मेन्डेसले गोल थपेसंगै पिएसजी ६-२ ले विजयी भयो।
यस जितसंगै पिएसजीले फ्रेन्च लिग वानमा राम्रो अग्रता पाएको छ। पिएसजीले सिजनका २६ खेल खेल्दा १७ खेलमा जित निकालेको छ भने मात्र एक खेलमा पराजय भोगेको छ। पिएसजी ५९ अंक बनाएर शिर्ष स्थानमा छ। पिएसजी दोस्रो स्थानको क्लब भन्दा १२ अंकले अगाडी छ।