एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने म्यानचेस्टर युनाइटेडका प्रबन्धक एरिक टेन ह्यागको ड्रिम क्लब बायर्न म्युनिख रहेको छ।
म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेको अवस्थामा एरिक टेन ह्याग बायर्न म्युनिख को जिम्मेवारी सम्हाल्न तयार रहेको दावी विभिन्न खेल मिडियाहरुले गरेका हुन्।
युनाइटेड जारी सिजनमा खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। पहिला च्याम्पियन्स लिगबाट बाहिरिएको युनाइटेड प्रिमियर लिगको उपाधि होडबाट समेत बाहिरिसकेको छ।
युनाइटेड अहिले प्रिमियर लिगको छैठौं स्थानमा छ। सन् २०२३-२४ को सिजनमा अहिले सम्म खेलेका २८ प्रिमियर लिग खेल मध्ये १५ मा मात्र जित निकाल्दा उसले ११ खेलमा हार बेहोरेको छ।
युनाइटेडको कम्जोर प्रदर्शनलाई मध्यनजर गर्दै क्लबले टेन ह्यागलाई सिजनको अन्त्य पछि बिदा गर्न सक्ने सम्भावना कायमै छ। कुनै पनि हालतमा युनाइटेड छाड्न परे टेन ह्याग बायर्न आवद्ध हुन इच्छुक रहेको बताइएको छ।
जर्मन पत्रकार क्रिस्चियन फकले दावी गरेका छन् कि सर जिम र्याक्लिफ र कम्पनी डच कोच कामको लागि सही व्यक्ति हो भनेर विश्वस्त छैनन्। उता थोमस टुचेलले सिजनको अन्त्यमा क्लब छाड्ने तय भैसकेको अवस्थामा टेन ह्याग बायर्नमा आवद्ध हुन इच्छुक रहेको क्रिस्चियन दावी गर्छन्।