एजेन्सी – स्पेनिस पत्रिका स्पोर्टले गरिरहेको दावीलाई मान्ने हो भने रियल म्याड्रिडका फरवार्ड रोड्रिगो सिल्भा डे गोजलाई प्रिमियर लिग क्लब लिभरपुलले भित्र्याउन चाहेको छ।
आगामी समर ट्रान्सफर विन्डोमा लिभरपुलले रियल म्याड्रिडका ब्राजिलियन फरवार्ड रोड्रिगो सिल्भा डे गोजलाई भित्र्याउन चाहेको दावी स्पेनिस पत्रिका स्पोर्टले गरेको हो।
म्याड्रिडले यस गर्मीमा पेरिस सेन्ट-जर्मेनका सुपरस्टार केलियन एमबाप्पेलाई नि:शुल्क ट्रान्सफरमा ल्याउने अपेक्षा गरिएको छ। एम्बाप्पेको आगमनले रियलमा रोड्रिगोको भूमिकालाई संकुचित गर्न सक्ने अनुमान गरिएको छ।
यस्तोमा उनले रियल छाड्ने योजना बनाउन सक्ने बताइन्छ। त्यस्तै रियल पनि रोड्रिगोलाई बिक्री गर्ने योजना तर्फ अगाडी बढ्न सक्ने स्पोर्टले जनाएको छ।
यस्तोमा लिभरपुल रोड्रिगोलाई भित्र्याउने दौडमा देखिएको बताइएको छ। रोड्रिगो र रियल म्याड्रिड बीचको सम्झौता सन् २०२८ सम्मका लागि छ। उल्लेखित स्रोतका अनुसार एनफिल्ड संगठनले पहिले नै उनको अवस्थाको बारेमा सोधपुछ गरिसकेको छ।
लिभरपुल ब्राजिलियनमा चासो देखाउने एक मात्र क्लब होइन। उनलाई म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि भित्र्याउन चाहेका छन्। उनको बजार मूल्य ८६ मिलियन पाउण्ड आसपास रहेको चर्चा छ।