September 20, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल हिलालले क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन विंगर राफिन्हालाई अनुबन्ध गर्ने योजना बनाएको छ। केहि स्पेनिस खेल मिडियाहरुका अनुसार अल हिलालले आगामी समर ट्रान्सफर विन्डोमा राफिन्हालाई अनुबन्ध गर्ने योजना बनाएको हो।

अल हिलाल राफिन्हालाई भित्र्याउने योजनामा रहेको र त्यसको लागि ठूलो रकम खर्च गर्न तयार रहेको स्पेनिस पत्रिका स्पोर्टले जनाएको छ। अल हिलाल राफिन्हाका लागि १ सय मिलियन युरो खर्च गर्न तयार रहेको बताइएको छ।

बार्सिलोनाले २०२२ मा लीड्स युनाइटेडबाट ५७ मिलियन युरो शुल्कमा राफिन्हालाई अनुबन्ध गरेको थियो। त्यसबेला खेलाडी र क्लब बीच ५ वर्षका लागि सम्झौता भएको थियो।

ब्राजिलियनले क्लबका लागि ७८ खेल खेलेका छन्। जसमा उनले १५ गोल गरेका छन् भने २२ असिस्ट प्रदान गरेका छन्। यो सिजन २७ बर्षिय खेलाडीले ५ गोल गरेका छन् भने २८ वटा प्रतियोगितामा १० वटा असिस्ट प्रदान गरेका छन्।

राफिनहाले हाल बार्सिलोनामा प्रति वर्ष साढे १२ मिलियन युरो पारिश्रमिक पाउँदै आएका छन्। अल हिलाल ब्राजिलियन विंगरलाई यो भन्दा तीन गुणा बढी पारिश्रमिक दिन तयार रहेको स्पोर्टले जनाएको छ।

ब्राजिलियन खेलाडी बार्सिलोनामै रहने पक्षमा रहेको बताइएको छ। तर आर्थिक संकटका कारण बार्सिलोनाले राफिन्हालाई बिक्री गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *