September 20, 2024

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले क्लबका युवा खेलाडीहरुका लागि विभिन्न क्लबहरुबाट आकर्षक प्रस्ताव प्राप्त गरिरहेको खुलासा गरेका छन्।

एक कुराकानीका क्रममा लापोर्टाले क्लबमा रहेका धेरै खेलाडीहरुका लागि आकर्षक प्रस्तावहरु आइरहेको बताएका हुन्। त्यसक्रममा उनले ला मासिया एकेडेमी उत्पादन लामाइन यामलका लागि २ सय मिलियन युरोको प्रस्ताव आएको बताए।

यामलका लागि आफूहरुले २ सय मिलियन युरोको प्रस्ताव प्राप्त गरेपनि स्वीकार नगरेको लापोर्टाको भनाई छ। यामलमा आफूहरुलाई विश्वास रहेको र उनलाई बिक्री नगर्ने लापोर्टाले स्पष्ट पारे।

“हामीले लामाइन यामाल जस्ता खेलाडीहरूको लागि लगभग २ सय मिलियन युरोको प्रस्तावहरु प्राप्त गरिरहेका छौँ। हामी अवश्य पनि अस्वीकार गर्दैछौं। हामी लामाइनलाई विश्वास गर्छौं र बेच्न आवश्यक छैन।”,लापोर्टाले भने।

यामल हाल २०२५-२६ सिजनको अन्त्यसम्म बार्सिलोनासँग अनुबन्धित छन्। बार्सिलोनाको एकेडेमीबाट सिनियर टोलीमा स्थान बनाएका उनी विश्व फुटबलको उत्कृष्ट युवा खेलाडीहरूमध्ये एक बनेका छन्।

सो कुराकानीका क्रममा लापोर्टाले अन्य खेलाडीहरुका लागि पनि प्रस्ताव आइरहेको बताउन छुटाएनन्। उनका अनुसार फर्मिन, पेड्रि, डी जोंग, अराउजो, गाभी र बाल्डे जस्ता खेलाडीका लागि प्रस्ताव आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *