एजेन्सी – आगामी सिजनबाट स्पेनिस महारथी रियल म्याड्रिडबाट खेल्ने तयारीमा रहेका ब्राजिलियन युवा स्टार एन्ड्रिकले आफू क्रिस्टियानो रोनाल्डोको ठूलो फ्यान रहेको खुलासा गरेका छन्।
भर्खरै प्रकाशित भएको एन्ड्रिकको प्लेयरको ट्रिब्यून पत्रमा उनले आफू रोनाल्डोको फ्यान रहेको र उनका भिडियोहरु हेर्ने गरेको उल्लेख गरेका हुन्। एन्ड्रिकका अनुसार उनी सबै भन्दा बढी रोनाल्डोलाई हेर्छन्।
रोनाल्डोले कत्तिको कडा परिश्रम गर्छन् र उनको मानसिकताको बारेमा अरूले के भन्छन् भन्ने कुराहरु आफूले हेर्ने गरेको एन्ड्रिकको भनाई छ। रोनाल्डोबाट प्रतिभा भन्दा कडा परिश्रम महत्त्वपूर्ण छ भन्ने कुरा आफूले सिकेको एन्ड्रिकले सो पत्रमा उल्लेख गरेका छन्।
“कुनै पनि खेलाडी भन्दा बढी मैले रोनाल्डोलाई हेर्ने गरेको छु। उनको हाइलाइट मात्र होइन, उनले कत्तिको कडा परिश्रम गर्छन् र उनको मानसिकताको बारेमा अरूले के भन्छन् सबै हेर्ने गर्छु। उनीबाट मैले सिकेको छु कि प्रतिभा भन्दा कडा परिश्रम महत्त्वपूर्ण छ।”,एन्ड्रिकको प्लेयरको ट्रिब्यून पत्र लेखिएको छ।
लस मेरेन्गुएजले पाल्मेइरासबाट एन्ड्रिकलाई साइन गर्नको लागि ६० मिलियन खर्च गरेको थियो। उनी यस सिजनको अन्त्य पछि रियल म्याड्रिडको टोलीमा आवद्ध हुनेछन्।
मार्च २३ मा वेम्बलीमा इङ्ल्यान्डसँगको मैत्रीपूर्ण खेलमा ८० औं मिनेटमा विजयी गोल गरेपछि ब्राजिलियन प्रोडिजी निरन्तर हेडलाइनमा छन्। उनी ऐतिहासिक स्टेडियममा क्लब वा देशका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए।