September 19, 2024

एजेन्सी – बेन्फिका र अर्जेन्टिनाका स्टार एन्जेल डि मरियाको परिवारलाई ज्यान मार्ने धम्की मिलेको छ। अर्जेन्टिनाको एक अपराधिक समूहले एन्जेल डि मारियाको परिवारलाई ज्यान मार्ने धम्की दिएको हो।

डि मरियाको परिवार बस्दै आएको एक आवासीय क्षेत्रमा एक चेतावनी पत्र राख्दै अज्ञात समूहले एन्जेल डि मरियाको ज्यान लिने धम्की दिएको विभिन्न मिडियाहरुले जनाएका छन्।

बीए टाइम्सका अनुसार यो नोट कालो प्लास्टिकको झोलामा बेरिएको थियो र आवासीय क्षेत्रको गेटमा राखिएको थियो। अज्ञात समूहले डि मरियालाई रोसारियो नफर्किन चेतावनी दिएको बताइएको छ।

“तपाईको छोरा एन्जललाई फेरि रोजारियो नफर्कन भन्नुहोस्, अन्यथा हामी परिवारको सदस्यको हत्या गर्ने छौँ। हामी कागजका टुक्राहरू फाल्दैनौं। हामी सिसा र मरेका मानिसहरूलाई फ्याँक्छौं।”,धम्की पत्रमा चेतावनी दिँदै लेखिएको बीए टाइम्सले जनाएको छ।

नोटलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएको छ र त्यस सम्बन्धमा अनुसन्धान सुरु गरेको छ। अर्जेन्टिनाका लिजेण्ड र २०२२ को विश्वकप जित्ने नायक डि मारियालाई किन निशाना बनाइयो भन्ने कुरा अझै स्पष्ट भएको छैन।

लागुऔषध ओसारपसारमा संलग्न भएको गिरोहले सो धम्की दिएको हुन सक्ने आशंका गरिएको छ। यस अगाडी अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र उनको परिवारलाई पनि यस्तै किसिमको धम्की मिलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *