September 19, 2024

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले रोमेलु लुकाकुलाई साउदी अरेबिया पठाउने योजना बनाएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार चेल्सीले रोमेलु लुकाकुलाई साउदी पठाउने योजना बनाएको हो।

लुकाकुलाई चेल्सीले सन् २०२१ मा भित्र्याएको थियो। उनलाई इन्टर मिलानबाट भित्र्याउन चेल्सीले १ सय मिलियन युरो भन्दा बढी रकम खर्च गरेको थियो।

तर उनले चेल्सीमा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन्। जसकारण उनलाई चेल्सीले पुनः लोनमा इन्टर मिलान पठाएको थियो। तर मिलानमा पनि लुकाकुको प्रदर्शन खासै राम्रो रहन सकेन।

लुकाकु त्यहाँबाट लोनमा रोमा पुगे। रोमासँग लुकाकुलाई क्लबमै राख्ने विकल्प छ। तर रोमा लुकाकुका लागि उच्च रकम खर्च गर्ने पक्षमा भने छैन। चेल्सीले लुकाकुलाई ४० मिलियन युरो भन्दा कम रकममा बिक्री नगर्ने बताइएको छ।

रोमा त्यति धेरै रकम खर्च गर्न चाहँदैन। यसको अर्थ चेल्सीले अब लुकाकुलाई अन्तै बिक्री गर्नु पर्नेछ। यस्तोमा चेल्सीले लुकाकुलाई साउदी अरेबिया पठाउने तयारी गरिरहेको बताइन्छ।

लुकाकुलाई गत समर ट्रान्सफर विन्डोमा साउदी क्लब अल हिलालले भित्र्याउन चाहेको थियो। तर लुकाकुले कम्तीमा एक सिजन युरोपमै रहने निर्णय गरे।

जससंगै अल हिलालको सो योजना सफल हुन सकेन। तर अवस्था यस्तो देखिन्छ कि लुकाकु आगामी सिजन भने साउदी पुग्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *