एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित भएको छ। मंगलबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग पराजित हुन पुगेको हो।
स्लोभेनियामा भएको खेलमा बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा पोर्चुगल २-० को गोल अन्तरले पराजित भयो। स्लोभेनियाको जितमा एडम ग्नेज्डा सरिन र टिमी मैक्स एल्सनिकले एक-एक गोल गरे।
पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपनि दोस्रो हाफमा स्लोभेनियाले गोल गर्दै जित निकालेको हो। खेलको ७२ औं मिनेटमा एडमको गोलबाट स्लोभेनियाले अग्रता पाएको थियो।
त्यस्तै खेलको ८० औं मिनेटमा टिमी मैक्स एल्सनिकले गोल गर्दा स्लोभेनियाले २-० को अग्रता पायो। त्यसपछि पोर्चुगलले निरन्तर गोल फर्काउने प्रयास गरेपनि सफल हुन भने सकेन।
स्लोभेनिया विरुद्धको खेलमा पोर्चुगलले बलमा कुल ६५ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पाहुना टोलीको तर्फबाट कुल १० प्रहार भएका थिए जसमध्ये २ प्रहार टार्गेटमा थिए।
तर कुनै पनि प्रहार गोलमा परिणत हुन भने सकेन। त्यस्तै घरेलु टोलीको तर्फबाट भने ८ प्रहार भएका थिए। जसमध्ये ४ प्रहार टार्गेटमा थिए। स्लोभेनिया विरुद्ध पछिल्लो खेलमा नखेलेका क्रिस्टियानो रोनाल्डो पनि खेलेका थिए।