एजेन्सी – केहि खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने ब्राजिलियन स्टार नेयमार साउदी क्लब अल हिलालसँगको सम्झौता सकिएपछि बार्सिलोना फर्किन सक्छन्।
बार क्यानालेट्सले साउदी क्लब अल हिलालसँगको सम्झौता सकिएपछि नेयमार साउदी छाडेर स्पेनिस क्लब बार्सिलोना फर्किन सक्ने सम्भावना रहेको दावी गरेको हो।
नेयमारको अल-हिलालसँगको सम्झौता सन् २०२५ को समरमा समाप्त हुनेछ। सम्झौता सकिएपछि नेयमारले साउदी पक्षसँगको सम्झौता थप नगर्ने र फ्री ट्रान्सफरमा बार्सिलोना आवद्ध हुन सक्ने स्मभावाना रहेको बताइएको छ।
साउदी अरेबियामा उनको राम्रो सुरुवात भएको छैन। पूर्ववर्ती क्रुसिएट लिगामेन्टको चोटले ग्रस्त नेयमार अहिले आराम गरिरहेका छन्। उनी कहिले मैदान फिर्ता हुने हो भन्ने बारे कुनै जानकारी बाहिर आएको छैन।
व्यक्तिगत कारणले गर्दा उनी बार्सिलोना फर्किने तयारीमा रहेको बताइएको छ । त्यस्तै नेयमार सन् २०२६ को विश्वकपमा पनि सहभागी हुने योजनामा रहेको र त्यसका लागि उनले युरोप फिर्ता हुने योजना बनाएको समाचारमा उल्लेख गरिएको छ।
बार्सिलोनाका लागि १८६ खेलमा १०५ गोल गरेका थिए। साथै उनले ७६ असिस्ट पनि प्रदान गरेका थिए। बार्सिलोनामा हुँदा च्याम्पियन्स लिग सहित उनले विभिन्न उपाधि समेत जितेका थिए।