एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार क्याटलान क्लब बार्सिलोना क्लबका वर्तमान प्रशिक्षक जाभीलाई क्लबबाट अन्यत्र जान दिन तयार छैन।
जाभीले यस सिजनको अन्त्यमा बार्सिलोनाको प्रशिक्षक पद छाड्ने घोषणा गरिसकेका पनि बार्सिलोनाले उनलाई क्लबमै रोक्न चाहेको केहि स्पेनिस मिडियाहरुले दावी गरेका छन्।
प्रशिक्षक पद छाडे पनि बार्सिलोनाले जाभीलाई अन्य भूमिका दिएर क्लबमा रोक्न चाहेको बताइएको छ। खबर अनुसार त्यसका लागि क्लब अध्यक्ष जोआन लापोर्टा आन्तरिक तयारीमा जुटेका छन्।
क्लबमा नयाँ पद स्थापित गरेर भएपनि जाभीलाई क्लबमै रोक्ने लापोर्टाको योजना रहेको बताइएको छ। तर जाभी क्लबमा रहन्छन् कि रहँदैनन् भन्ने कुरा भने समयले नै बताउने छ।
बार्सिलोनाले निरन्तर कम्जोर प्रदर्शन गरेपछि जाभीले केहि महिना अगाडी बार्सिलोना छाड्ने घोषणा गरेका थिए। तर उनले सो घोषणा गरेपश्चात बार्सिलोनाले निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ।
यसका बाबजुत जाभीले आफू क्लब छाड्ने निर्णयबाट ब्याक नहुने बताइरहेका छन्। बार्सिलोनाको प्रसिद्ध ला मासिया एकेडेमीका उत्पादन जाभीले आफ्नो खेल जीवनका १७ वर्ष बार्सिलोनामा बिताएका थिए।
खेलाडीको रुपमा उनले बार्सिलोनामा चार च्याम्पियन्स लिग, आठ ला लिगा उपाधि, तीन कोपा डेल रे, छ सुपरकोप डी एस्पाना, दुई यूईएफए सुपर कप, र दुई फिफा क्लब विश्वकप उपाधि जितेका छन्।