एजेन्सी – क्याटलान क्लब बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ। क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमै नराम्रो हार बेहोरेसंगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको हो।
पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्ध जित निकालेपनि बार्सिलोना दोस्रो लेगमा भने पराजित भयो। मंगलबार राति भएको खेलमा बार्सिलोना ४-१ को गोल अन्तरले हार्यो।
पहिलो हाफमै १० खेलाडीमा समेटिएको बार्सिलोनाका लागि एक मात्र गोल राफिन्हाले गरे। पिएसजीका लागि भने किलियन एम्बाप्पेले दुई गोल गर्दा उसमान डेम्बेले र भिटिन्हाले एक-एक गोल गरेका थिए।
खेलको १२ औं मिनेटमा राफिन्हाको गोलबाट बार्सिलोनाले अग्रता पाएको थियो। खेलको २९ औं मिनेटमा डिफेन्डर रोनाल्ड आराउहो सोझो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित भयो।
४०औं मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए। ५४औं मिनेटमा भिटिन्हाले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेसंगै पिएसजी २-१ ले अगाडी बढ्यो।
६०औं मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पायो। पेनाल्टीमा किलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ३-१ को अग्रतामा पुर्याए। उनै एम्बाप्पेले खेलको ८९ औं मिनेटमा अर्को गोल थपे।
अघिल्ली लेगमा ३-२ को गोल अन्तरले पराजित भएपछि दोस्रो लेगमा ४-१ को गोल अन्तरले जित निकालेपछि समग्रमा ६-४ को जित निकाल्दै पिएसजीले सेमिफाइनलमा स्थान बनायो।