एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पे च्याम्पियन्स लिगको जारी सिजनको गोल्डेन बुट जित्ने दौडमा देखिएका छन्। सम्भवतः पिएसजीमा अन्तिम सिजन बिताइरहेका एम्बाप्पे च्याम्पियन्स लिग गोल्डेन बुट जित्ने दौडमा देखिएका हुन्।
च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा एम्बाप्पेले मंगलबार राति सानदार प्रदर्शन गरे। उनले बार्सिलोनालाई उसकै घरेलु मैदानमा पराजित गर्नेक्रममा महत्वपूर्ण भूमिका निभाए।
बार्सिलोना विरुद्धको दोस्रो लेगमा एम्बाप्पेले दुई गोल गरेका थिए। ती दुई गोलसंगै एम्बाप्पे च्याम्पियन्स लिगको जारी सिजनको सर्वाधिक गोलकर्ता बनेका छन्।
एम्बाप्पेले यस सिजन च्याम्पियन्स लिगका १० खेलमा ८ गोल गरेका छन्। एम्बाप्पेलाई गोल्डेन बुट दौडमा जर्मन क्लब बायर्न म्युनिखका ह्यारी केनले पछ्याइरहेका छन्।
केनले यस सिजन च्याम्पियन्स लिगका ७ गोल गरेका छन्। केनले ९ खेलमा ७ गोल गरेका हुन्। च्याम्पियन्स लिगको जारी सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको सूचीको तेस्रो स्थानमा एट्लेटिको म्याड्रिडका एन्टोइन ग्रिजम्यान छन्।
ग्रिजम्यानले यस सिजन कुल ६ गोल गरेका छन्। तर एट्लेटिको प्रतियोगिताबाट बाहिरिसकेको छ। साविक विजेता म्यानचेस्टर सिटीका एर्लिङ हालाण्ड चौंथो स्थानमा छन्।
हालाण्डले यस सिजन ६ गोल गरेका छन्। उनले ८ खेलमा ६ गोल गरेका हुन्।