एजेन्सी – सबै भन्दा बढी च्याम्पियन्स लिग उपाधि जित्ने टोलीको रुपमा रहेको रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै रियल सेमिफाइनलमा प्रवेश गरेको हो।
रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम १–१ को बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा रियलले सिटीलाई पराजित गर्यो।
खेलको सुरुवातमै पछि परेपनि सिटीले दोस्रो हाफमा कम्ब्याक गर्यो। रियलका लागि खेलको १२ औं मिनेटमा ब्राजिलियन युवा स्टार भिनिसियसको क्रसलाई रोड्रिगोले गोलमा परिणत गरेका थिए।
रोड्रिगोले प्रहार गरेको बललाई सिटीका गोलकिपरले रोकेपनि पूर्ण रुपमा नियन्त्रण लिन नसक्दा रिबाउन्ड आएको बललाई गोलमा परिणत गरे। त्यसपछि खेलको ७६ औं मिनेटमा सिटीले बराबरी गोल फर्कायो।
सो गोल केभिन डि ब्रएनाले गरेका थिए। त्यसपछि निर्धारित ९० मिनेट, इन्ज्युरी समय र थप भएको समयमा पनि अरु गोल भएनन्। १ सय २० मिनेट सम्मै गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो।
गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा पक्का भयो।