एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड जारी सिजनमा ट्रेबल जित्ने दौडमा देखिएको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेपछि रियल ट्रेबल जित्ने दौडमा देखिएको हो।
रियलले अब च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ। च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग बायर्नको घरेलु मैदानमा हुनेछ भने दोस्रो लेग रियलको घरेलु मैदानमा हुनेछ।
बायर्नको चुनौती पाखा लगाएर फाइनल प्रवेश गरेको खण्डमा रियलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) र जर्मन क्लब बोरुसिया डर्टमण्ड बीचको खेलको विजेताको सामना गर्नेछ।
यस पटक रियल पक्कै पनि १५ औं च्याम्पियन्स लिग उपाधि जित्ने योजनामा हुनेछ। यदि च्याम्पियन्स लिग जित्ने हो भने रियलले ट्रेबल पनि पूरा गर्न सक्नेछ।
किनभने रियलले यस अगाडी नै स्पेनिस सुपर कप जितिसकेको छ भने लालिगा जित्ने दौडमा समेत छ। रियलले स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनालाई पराजित गरेको थियो।
त्यस्तै रियल अहिले लालिगाको शिर्ष स्थानमा रहेको छ। सिजनका ३१ खेल खेल्दा रियलले २४ खेलमा जित निकाल्दै ७८ अंक बनाएको छ। रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ८ अंकले अगाडी छ।