September 20, 2024

एजेन्सी – आर्सनलका पूर्व मिडफिल्डर ग्रानिट झाकाले अझै आर्सनल प्रिमियर लिग च्याम्पियन बन्न सक्ने सम्भावना रहेको बताएका छन्। एक कुराकानीका क्रममा झाकाले आर्सनल प्रिमियर लिग च्याम्पियन बन्ने सम्भावना सकिनसकेको बताएका हुन्।

एक खेल हार्दैमा सबै सकियो भन्न नमिल्ने झाकाको भनाई छ। आर्सनलको प्रिमियर लिग जित्ने दौडको सम्बन्धमा कुराकानी गर्ने क्रममा झाकाले प्रिमियर लिगमा अझै ६ खेल बाँकी रहेको र आर्सनलले प्रिमियर लिग जित्न सक्ने बताए।

“यो खेलको एक हिस्सा हो। एक खेल हार्दैमा यसको मतलब आर्सनलले सबै गुमाइसक्यो भन्ने होइन। प्रिमियर लिगमा छ खेलहरू बाँकी छन् र प्रिमियर लिगको उपाधि जित्ने ठूलो मौका छ। म उनीहरूलाई निश्चित रूपमा शुभकामना दिन्छु”,झाकाले भने।

त्यसक्रममा झाकाले आफू अझै प्रिमियर लिगका खेलाडीहरुसँग सम्पर्कमा रहेको बताउन छुटाएनन्। आर्सनल यस सिजन प्रिमियर लिग उपाधिको धेरै नजिक रहेको झाकाको भनाई छ।

उनले भने,”के आर्सनलले उपाधि जित्न सक्छ? मलाई आशा छ सक्छ। किनभने टोली, स्टाफ र फुटबल क्लब सबै ट्रफी जित्न योग्य छन्। म अझै पनि स्टाफ र खेलाडीहरूसँग सम्पर्कमा छु र अझै पनि खेलहरू हेरिरहेको छु। मलाई आशा छ कि उनीहरुले यस पटक उपाधि जित्छन्।”

प्रिमियर लिगको उपाधि होडमा अहिले आर्सनल, लिभरपुल र म्यानचेस्टर सिटी छन्। सिटी लिगको शिर्ष स्थानमा छ भने आर्सनल दोस्रो स्थानमा छ, सिटी आर्सनल र लिभरपुल भन्दा दुई अंकले अगाडी छ।

झाका गत समर ट्रान्सफर विन्डोमा मात्रै आर्सनलबाट बायर लेभरकुसेन पुगेका थिए। बायर लेभरकुसेनसँग उनले बुन्डेसलिगा उपाधि जितिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *